बैशाख १७ देखि बुढीतोलामा पर्यटन मेलाको आयोजना हुने, स्थानीय संस्कृति र अर्थतन्त्र प्रवर्द्धन गर्ने अपेक्षा

अत्तरिया  : कैलालीको बुढीतोला क्षेत्रमा यही वैशाख १७ गतेदेखि २३ गतेसम्म विशेष “पर्यटन मेला” आयोजना हुने भएको छ। बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुने भएको हो । समितिले बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवको उद्देश्य विशुद्ध रूपमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको जनाएको छ ।

समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार गोदावरी नगरपालिका–४ स्थित बुढीतोला क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यो मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। “हामीले आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छौं,” भट्टराईले भने ।

महोत्सवमा बुढीतोलाको मौलिकता झल्काउने विभिन्न सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन, तथा घरेलु उत्पादनका स्टलहरू रहनेछन्। साथै, स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति पनि आकर्षणको केन्द्र बन्नेछ।
आयोजकका अनुसार यस मेलाले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। महोत्सव अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, खानाका परिकार, तथा सांस्कृतिक आदानप्रदानका गतिविधिहरू सञ्चालन गरिनेछ।
स्थानीयवासी तथा पर्यटकलाई लक्षित गर्दै आयोजना गरिएको यस “पर्यटन मेला”ले बुढीतोलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.