वैद्यनाथ क्षेत्रमा भजन–कीर्तनका लागि सांगीतिक सामग्री हस्तान्तरण

धनगढी  : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको साप्ताहिक भजन–कीर्तन तथा आरती कार्यक्रमका लागि विभिन्न सांगीतिक सामग्री सहयोग गरेका छन् । सांगीतिक सामग्री शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

“हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियान अन्तर्गत वैद्यनाथ क्षेत्र पुगेका नगर प्रमुख हमालले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन हार्मोनियम, तबला, मादल, खैजडी र डोलक लगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेका हुन ।

नगर प्रमुख हमालले सामाजिक सञ्जालमार्फत वैद्यनाथ क्षेत्रमा नियमित रूपमा सञ्चालन भइरहेका धार्मिक कार्यक्रमबारे जानकारी पाएपछि सहयोग गर्ने निर्णय लिएको बताए। उनले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय संस्कृति, कला तथा मौलिक परम्पराको प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

उनले वैद्यनाथ क्षेत्र धार्मिक आस्था, संस्कृति तथा पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएकाले यस्ता गतिविधिले क्षेत्रको पहिचान अझ उजागर हुने विश्वास व्यक्त गरे । साथै, स्थानीयवासीले सञ्चालन गरिरहेका धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

यस अवसरमा देवराज उपाध्यायले नगर प्रमुख हमालप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोगले दैनिक भजन–कीर्तन तथा आरती कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।

प्राचार्य उपाध्यायले धार्मिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गरे। उनले युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.