अत्तरिया : गेटा आँखा अस्पतालमा प्रशासन र कर्मचारीबीच विवाद सिर्जना भएको छ । कर्मचारीमाथि हुने व्यवहार, श्रम अधिकारको अवस्था र प्रशासनिक कार्यशैलीका कारण अस्पताल प्रशासन र व्यवस्थापन समिति विवादमा तानिएको हो ।
कर्मचारीहरुले अस्पताल प्रशासनलाई अधिकार माग्दा, आफ्नो समस्या राख्दा प्रशासनले मानसिक दबाब दिने, स्पष्टिकरण सोध्ने तथा जागिर नै जोखिममा पार्ने वातावरण सिर्जना गरेको गम्भीर आरोप लगाएका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरूले संस्थाभित्र लामो समयदेखि असन्तुष्टि बढ्दै गएको भए पनि बोल्न खोज्नेहरूलाई विभिन्न बहानामा दबाब दिइने भएकाले धेरै कर्मचारी खुलेर बोल्नसमेत डराउने अवस्था रहेको बताए । उनीहरूले अस्पतालभित्र सेवा दिनुभन्दा पनि जागिर जोगाउन संघर्ष गर्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो पोखे ।
कर्मचारीहरूले नेपाल सरकारले गत आर्थिक वर्षमै वृद्धि गरेको मासिक ३ हजार रुपैयाँ महँगी भत्ता लामो समयसम्म उपलब्ध नगराएको, कानुन अनुसार पाउनुपर्ने सुविधा माग्दा समाधान दिनुको सट्टा प्रशासनले बेवास्ता र दबाबको नीति अपनाएको उनीहरूको आरोप छ ।
पीडित कर्मचारीहरुले अस्पताल प्रशासनले आफूहरूका गुनासा सुन्ने र समाधान खोज्नेभन्दा पनि प्रश्न उठाउने कर्मचारीलाई स्पष्टिकरण सोध्ने, विभिन्न आरोप लगाउने तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाउने रणनीति अपनाएको बताए । कर्मचारीहरूले अस्पतालमा योग्यताको मूल्याङ्कनभन्दा पनि ‘कसलाई काखा र कसलाई पाखा’ गर्ने प्रवृत्ति हावी भएको दाबी गरे ।
कर्मचारीहरूले व्यवस्थापनमाथि वृत्ति विकास, पदोन्नति, जिम्मेवारी बाँडफाँट र अवसर वितरणमा समेत विभेद गरेको आरोप लगाएका छन् । योग्य र दक्ष कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्ने प्रवृत्तिले संस्थाको समग्र कार्यक्षमतामै असर पुगेको कर्मचारीहरू बताउँछन् ।
स्थानीयहरूको अस्पतालमा पछिल्लो समय सेवामुखीभन्दा पनि व्यापारिक सोच हावी हुँदै गएको र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुको सट्टा आर्थिक लाभलाई प्राथमिकता दिइएको उनीहरूको दाबी छ । क्याबिन सेवामा दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म शुल्क लिइएको विषयमा पनि स्थानीयहरूले प्रश्न उठाएका छन् ।
स्थानीयहरूले प्रमुख प्रशासक दीर्घबहादुर चन्दमाथि तानाशाही शैली अपनाएको, नातावाद र पक्षपातलाई प्रोत्साहन गरेको तथा कर्मचारीहरूलाई बारम्बार स्पष्टिकरण सोधेर मानसिक तनाव दिने गरेको आरोप लगाए । उनीहरूले अस्पतालभित्र स्वस्थ कार्य वातावरण नभएको र त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा समेत परेको बताएका छन् ।
स्थानीय गिरिराज भण्डारीले अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै प्रमुख प्रशासक दीर्घबहादुर चन्द विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्ने चेतावनी दिए । स्थानीयहरूले प्रमुख प्रशासक चन्दलाई हटाउनुपर्ने मागसमेत गरेका छन् ।
अस्पतालका प्रमुख प्रशासक दीर्घबहादुर चन्दले भने आफूमाथि लगाइएका आरोपलाई अस्वीकार गरे । उनले अस्पताल प्रशासनले नियम अनुसार नै काम गरिरहेको दाबी गर्दै आवश्यक परेका अवस्थामा मात्र स्पष्टिकरण सोधिने गरेको बताए ।
अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तले पनि कर्मचारीका आरोपहरू सत्य नभएको दाबी गरेका छन् । उनले महँगी भत्ता वितरणमा ढिलाइ भएको स्वीकार गरे पनि उक्त विषय समाधान भइसकेको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशीले केही कर्मचारीहरू ‘नेता बन्न खोज्दा’ संस्थाभित्रको वातावरण बिग्रिएको दाबी गर्दै प्रशासन र व्यवस्थापन समितिको बचाउ गरे ।