सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए संसदीय दलको बैठक

धनगढी  : संसदीय दलमा देखिएको विवादका बिच सुदूरपश्चिमका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन्। दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकको एजेन्डा भने खुलाइएको छैन ।

शाहलाई दलको नेताबाट हटाउन कांग्रेसका नौजना सांसदले दलको नेताको निर्वाचनको माग गर्दै मंगलबार संसदीय दलमा निवेदन दिएका थिए। दलको नेता फेरबदलको माग गर्नेमध्ये एक डम्बरी महराले बेलुका हस्ताक्षर फिर्ता लिएको घोषणा गरेपछि कांग्रेसभित्र मुख्यमन्त्री हटाउने विषयले नाटकीय मोड लिएको थियो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले संसदीय दलको बैठक दिउँसो २ बजे बोलाइएको बताए । ‘एजेन्डा भनिएको छैन । बजेट, योजनाहरूका विषयमा छलफल होला । दलको विवादको विषयमा पनि कुरा उठ्ला,’ उनले भने। कांग्रेसका १८ सांसदमध्ये नौजना विपक्षमा उभिएपछि मुख्यमन्त्रीको पद धरापमा परेको थियो।

सांसद प्रकाश देउवा जेन–जी आन्दोलनपछि अमेरिकामा छन्।महराले हस्ताक्षर फिर्ता लिएपछि भने मुख्यमन्त्रीमाथि देखिएको संकट तत्कालका लागि टरेको छ। दलको नेता फेरबदलको मागको अगुवाइ गरिरहेका सांसद दिवानसिंह विष्टले पार्टी संसदीय दलको बैठकमा सहभागी हुने–नहुने विषयमा आफूहरू अनौपचारिक छलफलमै रहेको बताए। ‘बैठक बस्ने खबर आएको छ, तर एजेन्डाबारे भनिएको छैन,’ उनले भने, ‘जाने–नजाने छलफलमै छौँ ।’

दलको नेता फेरबदलको निवेदन संसदीय दलमा बुझाइसकेकाले प्रक्रियामा जानुपर्ने मागबाट आफूहरू पछि नहटेको विष्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.