कञ्चनपुर : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले मुस्लिम समुदाय क्रमशः आफ्ना संवैधानिक तथा कानुनी अधिकारप्रति सचेत र सक्रिय बन्दै गएको बताएका छन्।
मुस्लिम आयोग द्वारा कञ्चनपुरको महेन्द्रनगर मा आयोजित ‘मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको अधिकार स्थापना, संरक्षण तथा प्रवर्द्धनमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
उनले मुस्लिम आयोगलाई संविधानले व्यवस्था गरेको महत्वपूर्ण संवैधानिक निकायका रूपमा उल्लेख गर्दै पछिल्लो समय आयोगले समुदायस्तरमा सञ्चालन गरेका सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरूको प्रशंसा गरे। “लामो संघर्ष र अपेक्षापछि स्थापना भएको आयोगबारे समुदायका नागरिकलाई अझ व्यापक रूपमा जानकारी गराउन आवश्यक छ,” उनले भने।
प्रदेश प्रमुख मियाँले आयोगले मुस्लिम समुदायको बसोबास रहेका विभिन्न जिल्लामा पुगेर अन्तरक्रिया, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आफ्नो क्षेत्राधिकार, कार्यसम्पादन र समुदायप्रति राज्यको दायित्वबारे जानकारी गराउने कार्य सराहनीय रहेको बताए।
उनका अनुसार नेपालको संविधानको धारा २६४ बमोजिम स्थापित आयोगले मुस्लिम समुदायका समस्या तथा चुनौतीहरूको अध्ययन–अनुसन्धान गरी समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई सुझाव तथा सिफारिस गर्ने, साथै आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखमार्फत सम्बन्धित संसद् तथा प्रदेश सभामा पेश गर्ने संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ। कानुनी तथा नीतिगत जटिलताहरू समाधान गर्न आयोग सक्रिय रूपमा लागिरहेको उनले उल्लेख गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल ले मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध व्यक्तित्व प्रदेश प्रमुखको जिम्मेवारीमा रहनु सकारात्मक सन्देश भएको बताए। उनले पछिल्ला वर्षहरूमा मुस्लिम तथा गैरमुस्लिम समुदायबीचको भाइचारा, सद्भाव र सामाजिक एकता थप मजबुत बन्दै गएको धारणा व्यक्त गरे।
अन्तरक्रिया कार्यक्रममा सहभागी मुस्लिम समुदायका प्रतिनिधिहरूले शिक्षा, रोजगारी, सामाजिक समावेशिता तथा अधिकार कार्यान्वयनसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। त्यस अवसरमा भीमदत्त नगरपालिका का प्रमुख पदम बोगटी ले स्थानीय तह मुस्लिम समुदायका सरोकार र मागप्रति संवेदनशील रहेको बताउँदै उठाइएका विषय सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।
मुस्लिम आयोग का कार्यवाहक अध्यक्ष महमदिन अली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्यद्वय शमसुल हक र मिर्जा अर्शद बेग लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मुस्लिम समुदायको सशक्तीकरण, अधिकार संरक्षण तथा राज्यका निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।