धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्ततः मन्त्रालय भागबण्डामार्फत समाधान भएको छ। मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट समूहका नेता दिवान सिंह विष्टबीच शनिबार साँझ सहमति भएपछि लामो समयदेखि जारी विवाद टुंगिएको हो।
पार्टीका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा भएको छलफलपछि दुवै पक्षबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको कांग्रेस स्रोतले जनाएको छ।
सहमति अनुसार हाल कांग्रेसको जिम्मेवारीमा रहेको आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राख्नेछन्। साथै शाह पक्षले सामाजिक विकास राज्यमन्त्रीसहित थप एक राज्यमन्त्री पद पनि पाउने भएको छ।
यता, विष्ट पक्षले सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ। विष्ट समूहले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी समेत पाउनेछ।
कांग्रेसभित्र केही समययता मुख्यमन्त्री शाहको नेतृत्वलाई लिएर असन्तुष्टि चुलिएको थियो। शाहविरुद्ध पार्टीका ९ जना प्रदेशसभा सदस्यले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यद्यपि, प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य डम्मरी महराले पछि आफ्नो हस्ताक्षर फिर्ता लिएपछि राजनीतिक समीकरणमा परिवर्तन आएको थियो।
मन्त्रालय भागबण्डामा सहमति भएसँगै कांग्रेसभित्रको शक्ति संघर्ष तत्कालका लागि साम्य भएको छ भने प्रदेश सरकारको राजनीतिक स्थायित्वसमेत बलियो हुने अपेक्षा गरिएको छ।