धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र भइरहेका बेला प्रदेश सभा सदस्य डम्मरी (रक्षा) महराले आर्थिक मामिला मन्त्रालयमा बलियो दाबी प्रस्तुत गरेकी छन्। मुख्यमन्त्री कमलबहादुर शाह र सांसद दिवान सिंह विष्ट पक्षबीच मन्त्रालय बाँडफाँटको सहमति जुटेसँगै महराले अर्थ मन्त्रालय आफ्नो जिम्मेवारीमा पर्नुपर्ने दाबी अघि सारेकी हुन्।
स्रोतका अनुसार मुख्यमन्त्रीको भागमा परेको आर्थिक मामिला मन्त्रालयमा महरासँगै कांग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीको पनि दाबी छ। तर, पार्टीभित्रको पछिल्लो शक्ति समीकरण र शाह नेतृत्व जोगाउन खेलेको भूमिकाका कारण महरा अग्रस्थानमा रहेको चर्चा छ।
महराले मुख्यमन्त्री शाहलाई सरकारमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, पार्टी एकता कायम राख्न आफूले योगदान दिएको तथा कठिन समयमा नेतृत्वको पक्षमा उभिएको भन्दै प्राथमिकता दिन आग्रह गरेकी बताइएको छ।
विशेषगरी, शाहलाई दलको नेताबाट हटाउन दर्ता गरिएको अविश्वास प्रस्तावमा सुरुआतमा हस्ताक्षर गरेकी महराले पछि आफ्नो समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलभित्रको समीकरण बदलिएको थियो। त्यसपछि अविश्वास प्रस्ताव कमजोर बन्दै गएको र शाहको पक्षमा बहुमत जुट्न सहज भएको थियो।
यही कारण महरालाई ‘शाहको संकटमोचक’ का रूपमा समेत हेरिएको छ। स्रोतका अनुसार अहिले मुख्यमन्त्री शाहले महरालाई आर्थिक मामिला मन्त्री बनाउने वा सामाजिक विकासतर्फ राज्यमन्त्रीको जिम्मेवारी दिने विषयमा अन्तिम छलफल गरिरहेका छन्।
मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि महराको भूमिका र पछिल्लो राजनीतिक सक्रियताले उनलाई सरकारमा महत्वपूर्ण जिम्मेवारी दिलाउन सक्ने सम्भावना बलियो देखिएको छ।