अत्तरिया : वर्षौंदेखि जीर्ण र धुलाम्मे अवस्थामा रहेको गोदावरी नगरपालिका–१ स्थित सिद्धार्थटोल–वरपिपल हुँदै महेन्द्र राजमार्ग अन्तर्गत अत्तरिया बजार जोड्ने रिङरोडको सुधार कार्य अन्ततः सुरु गरिएको छ। स्थानीयवासीको निरन्तर गुनासो, दबाब र आलोचनापछि सडक स्तरोन्नतिको काम अघि बढाइएको हो।
सडकमा ग्राभेल बिछ्याउने कार्य भइरहेको छ भने निकट भविष्यमै कालोपत्रे (पिच) गर्ने तयारी समेत तीव्र पारिएको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले सडक सुधारका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्टका अनुसार करिब १६० मिटर लम्बाइको उक्त सडकमा दुवैतर्फ निर्माण गरिएका नालीलाई यथावत् राख्दै बीचको करिब ७ मिटर चौडाइ क्षेत्रमा कालोपत्रे गरिनेछ। निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम निर्धारित प्रक्रियाअनुसार अघि बढिरहेको उनले जानकारी दिए।
यो सडक अत्तरिया बजारसँग जोडिने महत्वपूर्ण मार्ग भए पनि लामो समयदेखि मर्मत र स्तरोन्नतिबाट वञ्चित रहँदा स्थानीयवासीले सास्ती भोग्दै आएका थिए। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवतजावतमा समस्या हुँदै आएको थियो।
सडक सुधारको काम सुरु भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ। उनीहरूले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
स्थानीयको लामो प्रतीक्षापछि सुरु भएको यो पहलले क्षेत्रको यातायात सहज हुनुका साथै बजार, शिक्षा, स्वास्थ्य तथा अन्य सेवामा पहुँच थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।