धनगढीमा एक किशोरीमाथि सामूहिक जबरजस्ती करणीको आरोपमा तीन पक्राउ

धनगढी  : कैलालीको बेहडाबाबा क्षेत्रमा १८ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय दुई किशोर रहेका छन्।

घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गत जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएको थियो। उजुरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आइतबार तीनै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित युवतीको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणपछि उनलाई आफन्तको जिम्मा लगाइएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ। यद्यपि घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको र अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.