रास्वपा कैलालीको सभापतिमा ठकुल्ला विजयी

धनगढी  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न जिल्ला अधिवेशनबाट कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा ठकुल्लाले ३३५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

सभापति पदका अर्का उम्मेदवार महेश कुमार चौधरीले ३७ मत र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन्। निर्वाचनअघि नै चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। उनीहरूको बहिष्कारका बाबजुद पार्टीले मतदान प्रक्रिया अघि बढाएको थियो।

कुल ५०८ मतदाता रहेको निर्वाचनमा ३३५ मत खसेको थियो। बहिष्कार घोषणा गरेका दुवै उम्मेदवारले ५० मतको आँकडा समेत पार गर्न नसकेपछि ठकुल्लाले एकतर्फी जित हासिल गरेका छन्।

उपसभापतिमा रामलखन चौधरी निर्वाचित भएका छन्। पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले १५२ मत प्राप्त गरेर विजय हासिल गरेका हुन्।

सचिव पदमा मदनराज जोशी निर्वाचित भएका छन्। उनले तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेतृत्वमा स्थान सुरक्षित गरे। सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्।

त्यस्तै, सदस्य पदमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिप बहादुर धामी निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्रगत सदस्यतर्फ कैलाली क्षेत्र नम्बर १ बाट टंकप्रसाद जैशी ढुंगाना, क्षेत्र नम्बर २ बाट कृष्णबहादुर बिष्ट, क्षेत्र नम्बर ३ बाट बासुदेव घरेडी र क्षेत्र नम्बर ४ बाट दुर्गा अधिकारी निर्वाचित भएका छन्।

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै दुई प्रमुख उम्मेदवारले बहिष्कार गरे पनि मतदान सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। फराकिलो मतसहित सभापतिमा निर्वाचित ठकुल्लामाथि अब संगठनलाई एकताबद्ध बनाउने र अधिवेशनका क्रममा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने चुनौती रहने देखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.