खाली मैदानको सदुपयोग गर्दै युवालाई खेलतर्फ आकर्षित गरिरहेका प्रशिक्षक थापा

आकाश कार्की
अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–१ स्थित सुरक्षा महिला सामुदायिक वनको खुला मैदान केही समय अघिसम्म प्रयोग विहीन अवस्थामा थियो । पहिलो पटक खाली जमिनमा खुला मैदान बनाउन सफल भएको अत्तरियाको सृजनशील युवा क्लबले २०८२ सालमा महोत्सव आयोजना गरेको थियो । उक्त मैदान हाल फुटबल प्रशिक्षण केन्द्रका रूपमा व्यवस्थापन गरिएको छ ।

एनफाद्वारा मान्यता प्राप्त फुटबल प्रशिक्षक अत्तरिया घर भएका विनोद दर्लामी थापाले आफ्नै लगानीमा खुला मैदानलाई खेल मैदानको रूपमा विकास गर्दै निःशुल्क फुटबल प्रशिक्षण सञ्चालन गरिरहेका छन् ।

मैदानको सदुपयोग गर्दै बालबालिका तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले उनले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका हुन् । हाल उक्त मैदानमा गोदावरी नगरपालिका भित्रका करिब ४० भन्दा बढी खेलाडीहरूले फुटबल प्रशिक्षण लिइरहेका छन् ।
प्रशिक्षक थापाका अनुसार गोदावरी नगर क्षेत्रमा व्यवस्थित खेल मैदानको अभाव रहे पनि विभिन्न स्थानमा पुगेर खेलाडी उत्पादन गर्ने अभियानलाई निरन्तरता दिइएको बताए ।

“युवाहरूमा खेलप्रतिको रुचि बढाउने र समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन लगायतका नकारात्मक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले खेलमार्फत सकारात्मक वातावरण निर्माण गर्न प्रयास गरिरहेका छौं,” प्रशिक्षक थापाले भने ।

विगत १५ वर्ष देखि गोदावरी नगरपालिका तथा आसपासका विभिन्न पालिकाका खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएका थापाले आफ्नै खर्चमा खेल सामग्री अभाव भएका खेलाडीहरुलाई आवश्यक खेलकुद सामाग्री समेत वितरण गर्दै आएका छन् । खेलप्रति रुचि भएका तर आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुन सक्ने युवाहरूलाई सहयोग गर्ने उनको अभियान निरन्तर जारी छ ।
उनका अनुसार अहिलेको समयमा युवाहरू लागूऔषध तथा अन्य विकृति जन्य गतिविधिमा फस्ने जोखिम बढ्दो छ । यस्तो अवस्थामा दैनिक दुई–तीन घण्टा खेलकुदमा संलग्न हुँदा उनीहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक जीवनशैली तर्फ उन्मुख गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस्तै स्थानीयहरुले उक्त मैदानलाई व्यवस्थित खुला मञ्च तथा खेलकुद मैदानको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि राजनीतिक दल, स्थानीय सरकार, सामाजिक संघ संस्था तथा सरोकारवाला सबै पक्षले साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
खाली रहेको सार्वजनिक क्षेत्रलाई खेलकुद गतिविधि मार्फत जीवन्त बनाउँदै युवाहरूलाई सकारात्मक मार्गतर्फ डो¥याउने प्रशिक्षक विनोद थापाको प्रयास स्थानीय स्तरमा उदाहरणीय कार्यका रूपमा हेरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.