२ मतको अन्तरले उत्सव अर्याल बने रास्वपा बागमती प्रदेश सभापति

काठमाण्डौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अर्यालले ४१६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी डा. अछुतम लामिछानेलाई मात्र २ मतको झिनो अन्तरले पराजित गरेका हुन्। लामिछानेले ४१४ मत प्राप्त गरेका थिए।

अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकाल का अनुसार अन्तिम मतपरिणामले अर्याललाई बागमती प्रदेशको नेतृत्व सुम्पिएको हो। सुरुदेखि नै अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएअनुसार अन्तिम नतिजासमेत अत्यन्त रोमाञ्चक बनेको थियो।

प्रदेश सभापति पदका लागि प्रारम्भमा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर मतदानअघि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर अर्याललाई समर्थन जनाएपछि प्रतिस्पर्धा अर्याल र लामिछानेबीच सीमित भएको थियो।

उत्सव अर्याल मकवानपुरका हुन्। उनी यसअघि रास्वपा बागमती प्रदेश समितिको प्रवक्ताको जिम्मेवारीमा थिए। अर्का उम्मेदवार अछुतम लामिछाने नुवाकोट–२ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा रास्वपाका निवर्तमान प्रदेश सभापति हुन्।

२ मतको अत्यन्तै झिनो अन्तरले तय भएको यस निर्वाचनले रास्वपा बागमतीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वका लागि भएको प्रतिस्पर्धाको तीव्रता उजागर गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.