घोडाघोडीलाई प्रथम मेयर कप महिला फुटबलको उपाधि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला महिला फुटबल प्रतियोगिता को उपाधि घोडाघोडीले जितेको छ।

शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक सैपाल युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घोडाघोडी च्याम्पियन बनेको हो।

जेठ २४ गतेदेखि सैपाल युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा कैलाली जिल्लाका १२ टोलीको सहभागिता रहेको थियो। उपाधिसँगै घोडाघोडीले नगद रु। १ लाख ११ हजार १११, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सैपाल युवा क्लबले रु। ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट ले महिला खेलाडीहरूलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको बताए। खेलकुदले प्रतिभा विकास, राष्ट्रिय पहिचान स्थापना तथा आर्थिक अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले महिला खेलकुदलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

नगर प्रमुख भट्टले आफ्नो चार वर्षे कार्यकालमा नगरपालिकाको स्वामित्वमा उपयुक्त जग्गाको अभावका कारण हालसम्म रंगशाला निर्माण गर्न नसकिएको अनुभव पनि साझा गरे।

कार्यक्रममा सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटी ले सीमित आर्थिक स्रोतका कारण खेलकुद प्रतियोगिता सञ्चालन गर्न चुनौती रहेको बताउँदै स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

“महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित आयोजित प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको थियो। साथै विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

महिला फुटबलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले सुदूरपश्चिममा महिला खेलकुदप्रति बढ्दो आकर्षण र सम्भावनालाई थप उजागर गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.