धनगढी : कैलाली प्रहरीले पत्रकार दीपेन्द्र भट्ट लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई आइतबार धनगढीबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले विद्युतीय कारोबारसम्बन्धी दर्ता भएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको जनाएको छ। घटनाको थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
सामाजिक सञ्जालमार्फत विभिन्न अनियमितता, भ्रष्टाचार तथा सार्वजनिक सरोकारका विषयहरू निरन्तर उठाउँदै आएका पत्रकार भट्ट पछिल्लो समय चर्चामा रहेका पत्रकारमध्ये एक मानिन्छन्।
यद्यपि, उनीविरुद्ध परेको उजुरीको प्रकृति तथा लगाइएका आरोपबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले थप तथ्य अनुसन्धानपछि मात्रै सार्वजनिक गरिनेछ।