अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनबाट इन्जिनियर प्रकाश विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
धनगढीस्थित रिद्विसिद्वि पार्टी प्यालेस मा सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामी ले १५४ मत प्राप्त गरेका छन्। विष्टले २०४ मतको फराकिलो अन्तरसहित नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
प्रदेश सभापति पदका लागि विष्ट र धामीबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गरेका विष्टले स्पष्ट बहुमतसहित विजय हासिल गर्दै सुदूरपश्चिममा रास्वपाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
नवनिर्वाचित सभापति विष्टको विजयलाई सुदूरपश्चिममा पार्टी संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। महाधिवेशनमार्फत प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन भइरहेको र अन्य पदहरूको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश महाधिवेशनले प्रदेशस्तरीय संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनसँगै पार्टीले प्रदेशभर आफ्नो संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक कार्यक्रमलाई तीव्रता दिने विश्वास गरिएको छ।