कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि मुक्का प्रहार गर्ने पत्रकार कुँवर पक्राउ, अभद्र व्यवहार मुद्दा दर्ता

अत्तरिया  : कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावत ले कुँवरलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष रविन्द्र देवकोटा ले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन्। सोही आधारमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको डीएसपी रावतले बताए।

यता पत्रकार ऐश्वर्या कुँवर ले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.