पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी धनगढीमा नालामा खस्यो

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी धनगढीमा नालामा खसेको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको सरकारी गाडी अचानक सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो। घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारमा जुटेका थिए।

नालामा खसेको गाडी स्थानीयको सहयोगमा केही समयमै बाहिर निकालिएको थियो। घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको छ। गाडीमा सामान्य क्षति पुगेको हुन सक्ने भए पनि त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

गाडी बाहिर निकालिएपछि पूर्वमुख्यमन्त्री रावलले पुनः आफैंले उक्त गाडी चलाएर उत्तरबेहडीतर्फ गएको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।

घटनापछि केही समय उक्त क्षेत्रमा स्थानीयको भीड लागेको थियो। सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.