प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमको स्थापना दिवस मनाइयो

अत्तरिया  : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस धनगढीमा विशेष कार्यक्रमका साथ मनाइएको छ । धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षता रहेको थियो भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, प्राध्यापक हेमराज पन्त लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सात वर्षअघि स्थापना भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व आएपछि पहिलो पटक स्थापना दिवस औपचारिक रूपमा मनाएको हो । कार्यक्रममा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवद्र्धन र अनुसन्धानमा प्रतिष्ठानले खेलेको भूमिका तथा आगामी योजनाबारे चर्चा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताए । उनले प्रदेशमा रहेका भाषा, साहित्य, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अध्ययन तथा संरक्षणका लागि प्रतिष्ठानले अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको समृद्ध सांस्कृतिक विरासतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन अनुसन्धान र प्रकाशनका गतिविधि बढाउन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले प्रतिष्ठानले छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक कार्यहरू अघि बढाएको जानकारी दिए । उनले सुदूरपश्चिमका भाषा, साहित्य, कला र संस्कृतिको अभिलेखीकरण, अध्ययन तथा प्रवद्र्धनका लागि आगामी दिनमा थप योजनाबद्ध रूपमा अघि बढ्ने बताए ।

कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई भावी पुस्तासम्म पु¥याउन प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रदेशको बौद्धिक, साहित्यिक तथा सांस्कृतिक विकासका लागि प्रतिष्ठानलाई अझ सक्रिय र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । स्थापना दिवसका अवसरमा प्रतिष्ठानको सात वर्षे यात्राको समीक्षा गर्नुका साथै आगामी कार्यदिशा, अनुसन्धानका सम्भावना र प्रदेशको सांस्कृतिक पहिचान संरक्षणका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा साहित्यकार, कलाकार, प्राज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.