अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारको पहिलो रिङरोड सडक एक सातादेखि बन्द रहेको छ। वर्षौंदेखि जीर्ण बनेको तथा वर्षा लाग्ने बित्तिकै हिलाम्य र जलमग्न हुने समस्याबाट आजित स्थानीयले असार १५ गते सडकमै धान रोपेर विरोध जनाउँदै सडक अवरुद्ध गरेका थिए।
अत्तरिया–धनगढी ६ लेन सडकबाट सिद्धार्थ टोल हुँदै महेन्द्र राजमार्ग संग जोडिने यो सडक अत्तरिया बजार क्षेत्रको पहिलो रिङरोडका रूपमा परिचित छ। केही वर्षअघि कालोपत्रे गरिएको सडक समयमै मर्मत तथा संरक्षण नहुँदा पुनः ग्राभेल र कच्ची सडकमा परिणत भएको छ।
सडकका विभिन्न स्थानमा ठूला खाल्डाखुल्डी बनेका छन्। ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको स्थानीयको गुनासो छ। पानी जमेपछि सडक र पोखरी छुट्याउनसमेत कठिन हुने अवस्था रहेको उनीहरू बताउँछन्।
सडकको स्तरोन्नति तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएको भन्दै स्थानीयले सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्।
यस्तै पूर्वाधार विकास कार्यालयको बजेटबाट करिब १६० मिटर सडक कालोपत्रे गर्ने योजना भएर निर्माण कार्य अगाडि बढाइएको छ। स्थानीय अनुसार थप ४०–५० मिटर सडक निर्माण गरिए अत्तरिया बजारसम्मको सम्पूर्ण सडक सहज रूपमा जोडिने बताउँछन।