अत्तरिया : कैलालीको अत्तरियास्थित ज्येष्ठ नागरिक समाजको भवन परिसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
गोदावरी नगरपालिका–२ मा रहेको ज्येष्ठ नागरिक समाजको आयोजनामा सोमबार भवन परिसरमा रुद्राक्ष, सुपारी, अशोक, रक्तचन्दन, धुपी, आम, कागती लगायत विभिन्न प्रजातिका करिब १ सय बोटबिरुवा रोपिएको हो।

ज्येष्ठ नागरिक समाज अत्तरियाका अध्यक्ष भोजराज भट्टका अनुसार ज्येष्ठ नागरिकहरूको विश्रामस्थलका रूपमा रहेको भवन परिसरलाई हराभरा, स्वच्छ, सुन्दर तथा शीतल बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनमा पनि परिसरको हरियाली संरक्षण र विस्तारलाई निरन्तरता दिइने उनले बताए।
अध्यक्ष भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, विशिष्ठ अतिथिमा पद्मा अस्पतालका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनी तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।