बाजुरा : बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कोल्टी बसपार्क रित्तै छ । हिउँदमा दैनिक कोल्टी पुग्ने गरेका बस अहिले सदरमुकाम मार्तडीमा रोकिन थालेपछि बसपार्क रित्तै भएको हो । हिउँदमा घरको आँगनबाटै बस चढ्ने गरेका यहाँका स्थानीयवासी अहिले भने चार घण्टासम्म पदैल हिँड्दै मार्तडीमा पुग्न बाध्य छन् ।
बुढीनन्दा नगरपालिका–७ का डम्मर विक कोल्टी आउने बस मार्तडीमै रोकिएपछि पैदल नै मार्तडी आउजाउ गर्नु परेको बतान्छन। जबसम्म मार्तडीबाट कोल्टी सडकको बिच बिचमा पर्ने खोलामा पुल बन्दैन र सडक कालोपत्रे हुँदैन तबसम्म नियमित रूपमा बस कोल्टीमा सञ्चालन नहुने विकको भनाइ छ । बर्सातमा जिल्लाका नौ वटै स्थानीय तहका सबै ग्रामीण सडक अवरुद्ध हुन्छन् । हिउँद लागेपछि स्थानीय तहले मर्मत गरेपछि यातायातका साधन सञ्चालन हुने गर्छन् ।
कर्णाली कोरिडोर सडकमा भने बससेवा सञ्चालन हुँदै आएका छन् । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका स्थानीय अहिले सोही सडकमा बस चढेर नेपालगन्ज र काठमाडौँलगायतका सहरमा आउजाउ गर्ने गर्छन् ।
बुढीनन्दा नगरपालिकाका स्थानीयलाई भने कोल्टी बसपार्क सहज हुन्छ । उनीहरू कोल्टीबाट मार्तडी हुँदै धनगढी, नेपालगन्ज, काठमाडौँ आउजाउ गर्ने गर्छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला भन्छन, “अहिले बाउली र रजातालीको खोलामा पुल निर्माण भइरहेको छ । हामीले पनि पटक पटक ठेकेदार कम्पनीलाई पुल निर्माण चाँडो गर्नका लागि घचघच्याउँदै आएको छौँ । ती पुल बनेपछि निकै सहज हुने छ ।”
२०७८ सालको असारमै निर्माण पूरा गर्ने गरेर २०७६ असारमा मार्तडी कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोड रुपियाँमा बानियाँ कोटेश्वर जेभी प्रालिले जिम्मा लिएको थियो ।