कञ्चनपुरमा सशस्त्र प्रहरीको २३ औँ स्थापना दिवस : ११ करोडभन्दा बढीका अवैध सामान बरामद

कञ्चनपुर  : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरले सोमबार आफ्नो २३ औँ स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ।

शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित गण मुख्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा खेलाडीलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गणले आर्थिक वर्षभरि गरेका गतिविधि तथा उपलब्धिहरू सार्वजनिक गर्दै सीमा सुरक्षा, विपद् व्यवस्थापन, तस्करी नियन्त्रण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

११ करोड ७२ लाखभन्दा बढीका अवैध सामान बरामद

वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ। चालु आर्थिक वर्ष २०८३\८४ को साउन महिनासम्म मात्रै ५० लाख २६ हजार १ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ।

त्यसैगरी लागूऔषधसम्बन्धी ३१ घटनामा ५० जनालाई पक्राउ गरिएको, एक नाल भरुवा बन्दुक बरामद गरिएको तथा तस्करी नियन्त्रणमा प्रभावकारी कारबाही गरिएको जानकारी दिइएको छ।

विपद्मा ४१ जनाको जीवित उद्धार

गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलका अनुसार जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ।

उनका अनुसार वर्षभरिमा भएका ३४ वटा विपद्का घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको सकुशल उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा उद्धार गरिएको छ। विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ पटक नमुना अभ्यास तथा १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको छ।

सीमा सुरक्षामा ५०० पटक संयुक्त गस्ती

सीमा सुरक्षातर्फ १२ पटक सीमा पैदल गस्ती सञ्चालन गरिएको, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग ६ वटा समन्वय बैठक सम्पन्न गरिएको तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको विवरण सार्वजनिक गरिएको छ।

यस अवधिमा १३ वटा सीमा स्तम्भ मर्मत तथा रंगरोगन गरिएको छ भने संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको गणले जनाएको छ।

समुदायमा आधारित विपद् व्यवस्थापनमा जोड

समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ। विपद्को सूचना प्रणाली प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी निरन्तर सम्पर्कमा राखिएको जानकारी दिइएको छ।

स्थानीय तहसँगको सहकार्यमा प्राप्त चार वटा रबर राफ्ट बोट प्रयोग गरी महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सकुशल उद्धार गर्न सफल भएको गणपति सिग्देलले बताए।

यसका अतिरिक्त सीमावर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, भारतको एसएसबीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता, युवालाई केशकर्तन तालिम तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

अझ व्यावसायिक सेवा प्रवाह गर्न निर्देशन

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बन्दै गएको बताए।

उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी तथा विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन र नागरिकसँगको समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिँदै प्राप्त उपलब्धिलाई कायम राख्दै अझ व्यावसायिक, अनुशासित र परिणाममुखी ढङ्गले सेवा प्रवाह गर्न मातहतका सुरक्षाकर्मीलाई आग्रह गरे।

उत्कृष्ट कार्यका लागि डिएसपी योग्यबहादुर बस्नेत सम्मानित

स्थापना दिवसकै अवसरमा सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) योग्यबहादुर बस्नेत उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएका छन्।

उनीलाई वाहिनीपति नायव महानिरीक्षक दिग विजय सुवेदीले नगदसहित प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

बस्नेतले सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, सीमा अपराध न्यूनीकरण, राजस्व संरक्षण तथा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.