अत्तरिया : धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको छ। घटनाको नौ दिनमा मंगलबार परिवारले सेती प्रादेशिक अस्पतालबाट शव बुझेर दाहसंस्कार गरेका छन्। तर, घटनाको सत्यतथ्य खुलाउने मुख्य आधार मानिएको पोस्टमार्टम रिपोर्ट भने अझै प्राप्त भएको छैन।
प्रहरीका अनुसार पूजाको विवाह करिब छ महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१, हातीथलाकी ३१ वर्षीय भरत धामीसँग भएको थियो। साउन ११ गते उनी धनगढी उपमहानगरपालिका–४, न्युरोडस्थित आफ्नै घरमा सिलिङ फ्यानमा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि नवजीवन अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि पूजाका माइती पक्षले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै श्रीमान्, बाजे, बज्यै, फुपू र नन्दविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
न्यायको माग गर्दै पूजाका आफन्तले घटनाको दोस्रो दिनदेखि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत विभिन्न सरकारी निकाय अगाडि दैनिक चारदेखि पाँच घण्टासम्म धर्ना, प्रदर्शन र नाराबाजी गर्दै निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
यसैबीच, दुवै पक्षबीच सहमति भएपछि आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको शव सोमबार परिवारले बुझेर दाहसंस्कार गरेको पारिवारिक स्रोतले जनाएको छ। यद्यपि, सहमतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता योगेन्द्रप्रसाद तिमिल्सिनाले पोस्टमार्टम रिपोर्ट अझै नआएको जानकारी दिए। उनका अनुसार रिपोर्ट आउन केही दिनदेखि एक महिनासम्म लाग्न सक्ने भएकाले अनुसन्धान त्यसैको प्रतीक्षासँगै अन्य पक्षबाट पनि निरन्तर अघि बढिरहेको छ।
पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ। त्यसैले अनुसन्धानको निष्कर्ष र कानुनी प्रक्रिया अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।