अत्तरिया : कैलालीको टीकापुरमा तरकारी बोकेको बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा बोलेरोका सहचालकको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
बुधबार हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जबाट आउँदै गरेको लु.प्र.०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा बोलेरोका सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बोलेरो चालकको उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। मृतकको परिचय पनि तत्काल खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।