अत्तरियामा ग्यासको आंशिक अभाव, आपूर्ति घट्दा उपभोक्ता चिन्तित
आएको ग्यास आधा घण्टामै सकिने अवस्था, उपभोक्ताले मौज्दात राख्न थालेपछि समस्या थप जटिल
अत्तरिया : कैलालीको अत्तरिया क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आंशिक अभाव देखिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन्। ग्यासको आपूर्ति घट्नु र उपभोक्ताले अभाव हुने आशंकामा आवश्यकता भन्दा बढी सिलिन्डर मौज्दात राख्न थालेपछि बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको व्यवसायीहरूले बताएका छन्।
अत्तरिया क्षेत्रका ग्यास व्यवसायीका अनुसार पछिल्लो समय विगतको तुलनामा ग्यासको आपूर्ति घटेको छ। पर्याप्त परिमाणमा ग्यास नआए पनि पूर्ण रूपमा आपूर्ति बन्द भने नभएको उनीहरूको भनाइ छ।
महाराजा सप्लायर्सका सञ्चालक शेरबहादुर धामीका अनुसार पहिले अत्तरियामा चार गाडी ग्यास आउने गरेकोमा अहिले दुई गाडी मात्र आउने गरेको छ। आपूर्ति घटेकै कारण मागअनुसार ग्यास वितरण गर्न कठिन भएको उनले बताए। “पहिलेको जस्तो पर्याप्त ग्यास आएको छैन। त्यसैले अभाव नै भयो भन्न मिल्दैन, हामीले बिक्री–वितरण गरिरहेका छौँ,” धामीले भने, “तर अहिले आएको ग्यास पनि करिब आधा घण्टामै सकिने अवस्था छ।”
उनका अनुसार ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताहरूले एकैपटक दुईदेखि तीनवटासम्म सिलिन्डर खरिद गरेर घरमा मौज्दात राख्न थालेका छन्। यसले गर्दा सीमित परिमाणमा आएको ग्यास सबै उपभोक्तालाई समान रूपमा वितरण गर्न कठिन भइरहेको छ। “धेरै उपभोक्ताले आवश्यकता भन्दा बढी दुई–तीनवटा सिलिन्डर लैजाने गरेका छन्। त्यसैले सबै उपभोक्तालाई समान रूपमा ग्यास वितरण गर्न कठिन भइरहेको छ,” धामीले भने।
उनका अनुसार यसअघि आवश्यकता हेरेर आधा परिमाणमा समेत ग्यास वितरण गर्दा सहज रूपमा बिक्री–वितरण हुने गरेको थियो। तर अहिले आपूर्ति नै घटेपछि बजारमा चाप बढेको हो।
केही घण्टामै सकिन्छ १५० भन्दा बढी सिलिन्डर
अत्तरिया स्थित एसडी ट्रेड एण्ड सप्लायर्सकी सञ्चालक तथा भेरी ग्यासकी आधिकारिक बिक्रेता पार्वती भट्टले भने कम्पनीबाट ग्यासको आपूर्ति भइरहेको बताइन्। तर, उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर खरिद गरेर मौज्दात राख्न थालेपछि माग धान्न समस्या भएको उनको भनाइ छ।
भट्टका अनुसार यसअघि दैनिक २५ देखि ३० सिलिन्डरसम्म बिक्री हुने गरेकोमा अहिले एकैपटक १५० भन्दा बढी सिलिन्डर आए पनि केही घण्टामै बिक्री हुने गरेको छ। “कम्पनीबाट ग्यास आइरहेको नै छ। तर उपभोक्ताहरूले आवश्यकता अनुसार एक सिलिन्डर लिनुको सट्टा स्टकका लागि एकभन्दा बढी सिलिन्डर लैजाने गरेका छन्,” भट्टले भनिन्, “त्यसैले ग्यास उपलब्ध गराउन कठिन भइरहेको हो।”
मागअनुसार ग्यास पाउनै मुस्किल
अत्तरिया स्थित निङलासैनी ट्रेडर्सका सञ्चालक तथा भेरी ग्यासका डिलर कल्याण सिंह बोहराले भने पछिल्लो समय फ्याक्ट्रीबाट मागअनुसार ग्यास प्राप्त गर्नै कठिन भइरहेको बताए।
उनका अनुसार यसअघि मासिक करिब एक हजार सिलिन्डर ग्यास सहज रूपमा बिक्री हुने गरेको थियो। अहिले भने मागअनुसार ग्यास ल्याउन नसकिएको उनले बताए।
“पहिले महिनामा एक हजार सिलिन्डरसम्म ग्यास बिक्री हुन्थ्यो। अहिले फ्याक्ट्रीबाट एक सयदेखि डेढ सय सिलिन्डरसमेत ल्याउन मुस्किल भइरहेको छ,” बोहराले भने।
मौज्दात राख्ने प्रवृत्तिले समस्या थपियो
ग्यासको आपूर्ति घटेसँगै उपभोक्तामा अभाव हुनसक्ने चिन्ता बढेको छ। यही कारण कतिपय उपभोक्ताले दुईदेखि तीनवटासम्म सिलिन्डर खरिद गरी घरमा मौज्दात राख्न थालेका छन्।
व्यवसायीहरूले भने यस्तो प्रवृत्तिले बजारमा कृत्रिम चाप सिर्जना गर्ने र वास्तविक आवश्यकताका उपभोक्ताले समेत समयमै ग्यास नपाउने अवस्था आउने बताएका छन्।
उनीहरूले उपभोक्तालाई तत्काल आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर मौज्दात नराख्न आग्रह गरेका छन्। उपभोक्ताले संयमता अपनाएमा अहिले देखिएको आंशिक अभाव व्यवस्थापन गर्न सहज हुने व्यवसायीहरूको भनाइ छ।
हाल अत्तरियामा ग्यासको आपूर्ति पूर्ण रूपमा बन्द नभए पनि विगतको तुलनामा आपूर्ति घटेको र माग अस्वाभाविक रूपमा बढेका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्ने अवस्था देखिएको छ। आपूर्ति नियमित र पर्याप्त नहुँदा समस्या थप बढ्न सक्ने भन्दै उपभोक्ता तथा व्यवसायी दुवै पक्षले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।