अत्तरिया दुर्घटनामा सहमति जुटेन, बुधबारदेखि चक्काजामको घोषणा

अत्तरिया। अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका आफन्त र यातायात व्यवसायीबीच क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न सकेको छैन। मंगलबार बिहानदेखि इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको पटक–पटकको छलफल निष्कर्षविहीन भएपछि पीडित पक्षले बुधबार बिहानदेखि अत्तरिया बजारमा चक्काजाम गर्ने घोषणा गरेको छ।

मंगलबार बिहानदेखि भएको छलफलमा अन्य विषयमा सहमति नजिक पुगे पनि क्षतिपूर्तिको रकममा कुरा नमिलेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले जानकारी दिए। उनका अनुसार मृतकका आफन्तले २३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् भने यातायात व्यवसायीले ७ लाख ५० हजार रुपैयाँभन्दा बढी दिन नसक्ने अडान राखेका छन्।

क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि मंगलबार दिउँसो पीडित पक्षले अत्तरिया बजारमा सडक बन्द गरेका थिए। प्रहरीले बल प्रयोग गरी सडक खुलाएपछि पुनः वार्ताको वातावरण बनाइएको थियो। तर, साँझसम्म पनि सहमति हुन नसकेपछि वार्ता पुनः बिथोलिएको हो। प्रहरीले भने दुवै पक्षबीच सहमति गराउने प्रयास जारी रहेको जनाएको छ।

पीडित पक्षले क्षतिपूर्तिसँगै दुर्घटनामा संलग्न चालकलाई कारबाही गर्नुपर्ने मागसमेत अघि सारेको छ। उनीहरूले दुर्घटनापछि आवश्यक प्रक्रिया पूरा नगरी शव उठाइएको भन्दै त्यसबारे समेत छानबिन र कारबाही हुनुपर्ने बताएका छन्।

मृतकका भतिजा तथा बझाङको मष्टा गाउँपालिका–६ का वडाध्यक्ष शिवराज बोहराले तीन दिनदेखि न्याय र उचित क्षतिपूर्तिको माग राख्दै आए पनि आफूहरूको मागलाई बेवास्ता गरिएको बताए। सहमति नभए बुधबार बिहानदेखि अत्तरिया बजारमा शान्तिपूर्ण चक्काजाम गर्ने उनले घोषणा गरे।

आइतबार महेन्द्रनगरबाट यात्रु लिएर दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी ५३ वर्षीया सिन्की बोहरालाई अत्तरियामा ठक्कर दिएको थियो। बसपार्क क्षेत्रमा पानी र भुजा बिक्री गर्दै आएकी बोहरालाई बसको अगाडिको भागले ठक्कर दिएपछि लडेकी उनलाई पछाडिको टायरले किचेको पीडित पक्षको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको थियो।

दुर्घटनापछि स्थानीय र मृतकका आफन्तले चालकलाई कडा कारबाही, न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आइतबार साँझदेखि नै अत्तरिया बजारमा विरोध प्रदर्शन गर्दै आएका छन्। सोमबार दिनभरि तथा मंगलबार पनि पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति जुटाउन छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.