अत्तरिया : कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय दिपक सुनारको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा मृतककी श्रीमती यमुना सुनार, उनका प्रेमी लम्कीचुहा नगरपालिका–१० का दुर्योधन सुवर्णकार, टीकापुरका रामराजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–कलकत्ताका भीमा राना र बिरेन्द्र राना रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा यमुना सुनारले प्रेमी दुर्योधन सुवर्णकारसँग मिलेर श्रीमान् दिपक सुनारको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीको भनाइ छ । योजना अनुसार यमुनामार्फत दिपकलाई अरामवतीको जंगलमा बोलाइएको र त्यहाँ पुगेपछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीसमक्ष दिएको बयान अनुसार, हत्या गरेपछि घटना लुकाउने उद्देश्यले शवलाई टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको बताइएको छ । यद्यपि शव व्यवस्थापन तथा घटनामा संलग्न अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान अघि बढाएको छ । घटनाको कारण, हत्या योजनामा उनीहरूको भूमिका तथा शव व्यवस्थापनमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।