कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ

धनगढी  : कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरिएपछि उनकै सहोदर दिदी–भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार जग्गा सम्बन्धी घरायसी विवादकै कारण गिरीमाथि उनीहरूले लाठीले निर्घात कुटपिट गरेका थिए । घाइते अवस्थाका गिरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गिरीको पिठ्युमा चोट लागेको छ । उनीहरूबीच जग्गा सम्बन्धी विवाद रहेको बुझिन आए पनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

उनका दिदी-भिनाजुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.