सत्यवतीले बाढीपीडितलाई २ लाख ८४ हजार रुपैया भन्दा बढी आर्थिक सहयोग

अत्तरिया  : अत्तरियाको सत्यवती एकेडेमीले बाढीपीडितहरूको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले विद्यालय परिवारले स्वतःस्फूर्त रूपमा कुल रु २ लाख ८४ हजार ८ सय ५६ रुपैयाँ (दुई लाख चौरासी हजार आठ सय छपन्न रुपैयाँ मात्र) आर्थिक सहयोग संकलन गरेको जानकारी बिद्यालयले जनाएको छ ।

‘सत्यवती परिवार’ नाम दिइएको यस मानवीय अभियानमा विद्यालयको प्रशासन, शिक्षक, कर्मचारीदेखि साना बालबालिकाहरूले समेत आफ्नो खाजा खर्च कटौती गरेर ठूलो मन देखाएका छन् । संकलित रकमको विवरण अनुसार विद्यालय प्रशासनको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ र शिक्षक तथा कर्मचारीहरूले प्रथम त्रैमासिक परीक्षाको आफ्नो नास्ता बापतको ७३ हजार ५ सय रुपैयाँ उद्धार कोषमा जम्मा गरेका छन् ।

विद्यार्थीहरूले आफ्नो एक दिनको नास्ता खर्च बापतको कुल ६४ हजार २ सय ४५ रुपैयाँ राहत कोषमा प्रदान गरेका छन् । त्यस्तै, मानवीय भावनाले ओतप्रोत विद्यार्थी विभुति कडायतले आफ्नो दक्षिणा बापतको २५ हजार रुपैयाँ र विपिन कडायतले ११ हजार रुपैयाँ संस्थागत कोषमा बुझाएर समाजसेवाको बलियो उदाहरण प्रस्तुत गरेका छन् ।

विपत्तिका बेला सानो सहयोगले पनि कसैको जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ भन्ने चेतना विद्यालय तहदेखि नै प्रवाह हुनु गौरवको विषय हो । सत्यवती एकेडेमी परिवारले देखाएको यो आत्मीयता र परोपकारी भावनाले संकटमा परेका नागरिकहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.