अत्तरिया : सामाजिक अभियन्ता तथा दिदीबहिनी सेवा फाउन्डेसनकी अध्यक्ष लक्ष्मी कुमारी बोगटीको पहलमा डोटीका ३३ जना एकल तथा ज्येष्ठ आमालाई खाद्यान्नसहित न्यानो लुगा, स्विटर र सारी वितरण गरिएको छ ।
दसैँ–तिहारलाई लक्षित गर्दै आर्थिक अवस्था कमजोर भएका तथा दैनिक छाक टार्नसमेत कठिनाइ भोगिरहेका आमाहरूलाई राहत पु-याउने उद्देश्यले सहयोग वितरण गरिएको हो । चाडपर्वका बेला खानपानको अभाव झेलिरहेका परिवारलाई केही राहत मिलोस् र एक महिनासम्म सहज रूपमा भोजन गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष बोगटीले बताइन ।
विभिन्न सहयोगदाता तथा फाउन्डेसनको सहकार्यमा पहाडी क्षेत्रमा सञ्चालन गरिएको यो सातौँ चरणको सेवा हो । यस अभियानमार्फत विभिन्न विद्यालयका बालबालिका तथा एकल र ज्येष्ठ आमाहरूसहित हालसम्म ६ देखि ७ सय जनासम्मलाई सहयोग गरिएको जनाइएको छ ।
यस अभियानमा आई हेल्प फाउन्डेसन क्यानडा, बेद मोहन फाउन्डेसन, दिदीबहिनी सेवा फाउन्डेसनकी संस्थापक माला महतको टोली, अमेरिकाबाट कमला न्यौपाने, इन्दिरा खड्का कार्की, रोमिला श्रेष्ठ, निरु थापा तथा रूपा कुँवर क्षेत्रीले सहयोग गरेको छ । रूपा कुँवर क्षेत्रीले आफ्ना आमाबुवाको नाममा सहयोग गरेको जनाइएको छ ।
दुर्गम पहाडी क्षेत्रमा पुगेर विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति अध्यक्ष बोगटीले आभार व्यक्त गरेको छ । सहयोगदाताको साथ र सहकार्यले अभावमा जीवन बिताइरहेका नागरिकको मुहारमा खुसी ल्याउन महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ छ ।
‘सेवा नै धर्म हो, सेवा नै कर्म हो’ भन्ने भावनासहित सञ्चालन गरिएको यस अभियानले चाडपर्वका बेला विपन्न नागरिकलाई राहत पु¥याउनुका साथै सामाजिक सेवामा मानवीयता, सहकार्य र सहयोगको महत्वलाई उजागर गरेको छ ।