आज पनि महाअष्टमी, कात्तिक १ कै कर्म दोहोर्‍याउनुपर्ने

अत्तरिया  : यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले आज कात्तिक २ गते सोमबार पनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँ घर वा पूजाकोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताएका छन्।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ। दसैँ घर पूजाकोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ। अन्य कर्म पनि महाअष्टमीकै दोहोर्‍याउनुपर्ने उनले बताए।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ। विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ।

देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ। हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताएका छन्।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उनले दिए।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.