
अत्तरिया : डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी बनाउने भएका छन् । उनले बनाउन लागेको नयाँ पार्टीको दर्ता आज हुँदैछ । आज निर्वाचन आयोगमा झाँकीसहित गएर नयाँ पार्टी दर्ता गर्ने तयारी रहेको छ । उनले नयाँ पार्टीको नाम राखेका छन्– नागरिक उन्मुक्ति पार्टी ।
आफू जेलमा रहेकाले चौधरीले यो पार्टी आफ्नै नाममा चाहिँ दर्ता गर्न पाएनन् । यसका लागि उनले श्रीमतीको अध्यक्षतामा नयाँ पार्टी दर्ता गर्ने भएका हुन् । तर, पार्टी दर्ता गर्ने यो प्रक्रियामा चौधरी निर्वाचन आयोग जालान् वा नजालान् भन्ने अहिलेसम्म खुलेको छैन । डिल्लीबजार कारागारमा रहेकाले उनलाई निर्वाचन आयोगमा जान दिइने सम्भावना न्यून छ । यसअघि टीकापुर घटनामा एसएसपी लक्ष्मण न्योपानेसहित ८ जनाको हत्या आरोपमा चौधरी जेलमा छन् । उनले जेलबाट नै मनोनयन दर्ता गरेर गत संघीय निर्वाचनमा जित निकालेका थिए ।
उनले तत्कालीन सभामुख कृष्णबहादुर महराको सभामुख कार्यालयमा नै गएर संसद् पदको सपथ पनि लिएका थिए । तर, त्यहाँबाट उनलाई फेरि सोझै कारागार चलान गरिएको थियो । उनको रिहाइको माग गर्दै जनता समाजवादी पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले बारम्बार सरकारसँग सम्झौता गर्दै आएका छन् । तर, उनको मुद्दा सर्वोच्चमा भएकाले यसबारे अहिलेसम्म केही राजनीतिक निर्णय हुन सकेको छैन ।
