रेशम चौधरीको नयाँ दलको पार्टी अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता

डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन्। चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन्। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्।

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो। डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर उनी जान पाएनन्।

चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन्। उनले जेलबाटै चुनाव उठेर जितेका थिए। पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए। तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्।

संसदीय चुनाव हुने बेलामा चौधरी जेलमै थिए। त्यसबेला श्रीमतीलाई मनोनयन दर्ता गराउन दिइएको थियो। ‘जेलमै रहेको व्यक्तिलाई चुनाव उठ्न दिने, तर जितेपछि प्रमाण–पत्र नदिइने, त्यस्तो खालको दलगत स्वार्थ राखियो,’ उनले भनिन्, ‘अहिले पार्टी गठन गर्न खोज्दा पनि त्यसै गरिँदैछ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.