अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालनमा आउने भएको छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा एक महिना भित्र अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आउन लागेको हो ।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लालाई केन्द्रित गरेर विगत ३ वर्षदेखि बिरामीमैत्री अस्पताल भवन निर्माणसहित अस्पताललाई सिटी अस्पतालको रूपमा लैजाने र विपन्न,गरिब र मुख्य ओहोदाका व्यक्तिलाई प्रदेशमै सुरक्षा सहित स्तरीय सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनको तयारी थालिएको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले जानकारी दिए ।
हस्पिटलमा लामो समय बाहिर काम गर्दै आएका अनुभवी चिकित्सकहरूबाट विशेष किसिमको सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । हस्पिटलमा आधुनिक उपचारका उपकरणहरू युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्स–रे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, अक्सिजन प्लान्ट, डाईलासिस, आकस्मिक उपचार कक्ष, हाड जोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, डायलसिस, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिसलगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा उपलब्ध र आफ्नै फार्मेसी रहनेछ । भने बिरामीका लागि अस्पतालमा ३ वटा अत्याधुनिक अपरेसन कक्ष रहेका छन् । जसमा सामान्य, जटिल र अति जटिल अत्याधुनिक अपरेसन कक्ष रहेका छन् ।
अस्पतालमा आइसियु, एनआईसियु सेवा, बिरामीहरूको सहजताका लागि घरायसी वातावरण भएको वातानुकूलित सुविधा सम्पन्न क्याबिन, महिला पुरुषका लागि छुट्टाछुट्टै जनरल वार्डसहितको व्यवस्था रहेको छ । व्यक्तिगत सुरक्षा र स्तरीय सेवा अभावले बाहिर चेकजाँचका लागि काठमाडौँ, विदेश जानेलाई समेत लक्षित गरि छुट्टै पारिवारिक वातावरण, किचन, शारीरिक व्यामको व्यवस्थासहित स्तरीय सेवा दिने उद्देश्य रहेको जनाएको छ ।