
धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी घरपरिवारमा खुसीयाली छाएको छ। स्थानीय सरकारले जग्गा उपलव्ध गराएपछि यसअघि त्रिपालमुनि बसिरहेका बादी समुदायमा खुसी छाएको हो। तत्कालीन सशस्त्र द्वन्द्वका बेला असुरक्षित महसुस गरी घरखेत छाडेर भारत र कञ्चनपुरकै अन्यत्र क्षेत्रमा पलायन भएका बादी घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाले जग्गा उपलव्ध गराएको छ। सुकुम्बासीलाई सरकारले जग्गा दिने भएपछि विस्थापित बादी समुदाय बडुवाल टोलमा फर्केको थियो।
बडुवाल टोलका चार परिवार केही महिनासम्म बाटोमै त्रिपाल टागेर बस्दै आएका थिए। उनीहरुको दयनीय अवस्था देखेपछि नेपाल दलित संघ, माइती नेपाल कञ्चनपुर, नेपाल रेडक्रस सोसाइटी, समाजसेवी भीम कुमाललगायतले केही महिनाअघि राहतसमेत दिएका थिए। सशस्त्र द्वन्द्वको समयमा स्थानीय जोगी महतालगायतको टोलीले आफूहरु माओवादी बताउँदै बडुवाल टोल तथा आसपासका क्षेत्रमा आतंक मच्चाएको कारण ज्यान बचाउन चार बादी घरपरिवार भारततर्फ बिस्तापित हुन बाध्य भएको बादी परिवारका मुखिया बिरभाने बादीले बताए।
विगतमा आफ्नो झण्डै ७ विघा जग्गा रहेको चार बादी घरपरिवारले दाबी गर्दै आएका थिए। दोधारा चाँदनी नगरपालिका– ४ का वडा अध्यक्ष भक्तबहादुर सुनारको संयोजकत्वमा गठन भएको छानबिन समितिले बडुवाल टोलमा स्थलगत अनुगमन गरी बादी घरपरिवारको जग्गा उनैलाई दिनुपर्ने सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा दोधारा चाँदनी नगरपालिकाले बादी घरपरिवारले छोेडेको जग्गा उनीहरुलाई नै दिने निर्णय गरेको हो।
‘नगरपालिकाले हाम्रो विगतका दिनहरुमा छोडेर गएको जग्गा उपलव्ध गराएकोमा हामी नगरपालिकाप्रति निकै आभारी छौं’, बिरभाने बादीले भने, ‘अब गरिखाने दिन आयो, हामी सुकुम्बासी रहेनौं।’ जग्गा पाएपछि बादी परिवारले जग्गामा गहुँ र तरकारी लगाएका छन्। चार परिवारले झण्डै डेढ बिगाहा जग्गा पाएपछि उनीहरुमा खुसीको उमंग छाएको छ। ‘स्थानीय सरकारले वास्तवमा गरिब परिवारलाई न्याय दियो’, सितली बादीले भनिन्, ‘सुकुम्बासी जीवन बिताउने दिनहरु सकिए अब।’
