
एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिममा ६ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु, २ जिल्लामा बन्दसत्र जारी

अत्तरिया : सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । शुक्रबार देखि सुरु भएको अधिवेशन आईतबार सम्म कुनै पनि जिल्लाको नेतृत्वका लागि टुंगिएका छैन् । पदका आकांक्षी धेरै भएपछि सबै जिल्लामा निर्वाचन प्रक्रिया अघि बढाइएको छ । ६ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिए । ‘अहिलेसम्म कतै पनि टुंगिएको छैन । आकांक्षीबीच सहमतिको प्रयास जारी छ’, उनले भने, ‘मनोनयन दर्ता पनि भएको छ, सँगसँगै सहमतीको प्रयास पनि भइरहेको छ ।’
सहमती नभए निर्वाचनबाट नेतृत्व छानिने उनले बताए । नेकपा एमालेले जिल्ला तहलाई सर्वसम्मतिमै नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर, पदका दाबेदारबीच सहमती नजुट्दा अन्ततः नेतृत्व चयन प्रक्रिया निर्वाचनतिरै गएको हो । कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र बाजुरामा निर्वाचन प्रक्रिया थालिएको हो । कञ्चनपुर र अछाममा बन्दसत्र जारी छ । बझाङमा हिमपातका कारण अधिवेशन सुरु हुन सकेको छैन । सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा अध्यक्ष पदका आकांक्षीबीच सहमति हुन नसकेपछि नेतृत्व चयन प्रक्रिया निर्वाचनतर्फ गएको छ । कैलालीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । १ सय ५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्ला तर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५÷५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।
दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ । १ पदमा महिला निर्विरोध भएका छन् ।
मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ ।
एमाले कञ्चनपुरको अध्यक्षमा तीन जना आकांक्षी छन् । वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले अध्यक्ष पदमा दाबी गरेका हुन् । थापा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । उनीहरूबीच सहमतिको प्रयास भइरहे पनि हुन सकेको छैन । शनिबार सुरु बन्दसत्र आइतबार पनि जारी छ । डडेल्धुरामा नेतृत्वका लागि निवर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा चुनावी मैदानमा छन् । डडेल्धुरामा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनावी प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो । मनोनयन दर्ता भएको छ, अझै पनि सहमति प्रयास रहन्छ,’ नेता पठानसिंह बोहराले भने, ‘नभए निर्वाचनबाट नेतृत्व छानिनेछ ।
उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी विवेक र रूपसिंह ठकुराठीले उम्मेदवारी दिएका छन् । सचिवमा करन ताम्राकार र गजेन्द्र शाहीको उम्मेदवारी छ । आकांक्षीबीच सहमति नजुटेपछि बैतडीमा पनि नेतृत्व छान्न निर्वाचन हुँदै छ । एमालेका नेता गोरखबहादुर चन्द र सुरेन्द्र पालले आआफ्ना प्यानल बनाएका छन् । उपाध्यक्षमा रमिल बम चयन भएका छन् । उपाध्यक्ष पदमा उमेदवारी दिएका अर्का उमेदवार भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दार्चुलामा पनि निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ । निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएका छन् । वर्तमान उपाध्यक्ष उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्वसचिव मोहनसिंह धामी र जिल्ला कमिटी सचिवालय सदस्य एवम् नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी गरी चार जनाले एमाले दार्चुलाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । बझाङमा भने प्रतिकुल मौसमका कारण अझै पनि अधिवेशन सुरु हुन सकेको छैन ।
