होल्डिङ सेन्टर निर्माणमा ढिलो हुँदा संक्रमित व्यवस्थापनमा चुनौती
धनगढी : पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।
भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।
कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि धनगढी उपमहानगरपालिका–३ मा एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ ।
नेपाली सेनाबाट होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड ९० लाख रुपैयाँमा ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि यज्ञपुरुष न्यौपानेले बजेट अभावका कारण छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने काम लम्बिएको बताए । उनकाअनुसार अहिलेसम्म ७१ प्रतिशत भौतिक प्रगति भएकोमा ४० प्रतिशत कामको मात्रै भुक्तानी पाइएको छ । नेपाली सेनाले समयमै बजेट दिएमा ढिलाइ नहुने दावी निर्माण व्यवसायीको छ ।
होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएपछि कोरोना संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार धनगढी उपमहानगरपालिकाको कनरीमा सञ्चालन गरिएको आइसोलेसनमा एक सय जनाको क्षमता छ । ठाउँ सीमित भएका कारण त्यहाँ अहिले कोरोना लक्षण भएका संक्रमितलाई मात्र राख्ने गरिएको छ ।
‘
‘