कैलालीमा स्मार्ट लकडाउन, के गर्न पाउने के नपाउने ? (आदेससहित)
कैलाली : कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छ । बुधबार प्रमुख जिल्ला अधिकारी किरण थापाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै १२ बुदेँ आदेस जारी गरेका हुन् ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, संक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको जारी सूचनामा उल्लेख छ । उक्त आदेश बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ ।
माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ । १५ गतेसम्म भौतिक रुपमा पठनपाठन गर्न रोक लगाइएको छ भने जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालय भिडभाड नहुने गरी सञ्चालन गर्न आदेश जारी गरिएको छ ।
आदेसनुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।