निसासिएर एकै परिवारका चार जनाको मृत्यु
अत्तरिया : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
घटना अस्ति शुक्रवार रातिकै भए पनि शनिबार बेलुका मात्रै सार्वजनिक भएको थियो । सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ । ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् । बन्द कोठा भित्र यसरी कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा अक्सिजनको कमी भइ निसासिएर ज्यान जाने जोखिम धेरै हुन्छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउनु नै उत्तम हुने विज्ञ बताउँछन् ।