
सुदूरपश्चिममा बढ्दो कोरोना संक्रमण, अस्पतालमा बिरामीको चाप

धनगढी : सुदूरपश्चिममा पीसीआर परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको संख्या ५० प्रतिशत हाराहारीमा पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर र बाजुरा अस्पतालमा गरिएका नमुना परीक्षणले संक्रमणको अवस्था भयावह देखाएको हो ।
सेतीमा १ सय ८७ परीक्षणमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । महाकालीमा १४ जनाको परीक्षणमा शतप्रतिशत संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, बाजुरा अस्पतालमा २० जनाको परीक्षण गर्दा ८ मा संक्रमण पुष्टि भएको हो ।
प्रदेशभर एक सातायता ९ सय १९ जनाको पीसीआरमा ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या ४६ प्रतिशत हो । शनिबार प्रदेशका विभिन्न जिल्लामा २ सय २१ जनामा परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो ५७ प्रतिशत हो । यस्तै, एक सातामा १० हजार ८ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २ सय जनामा पोजिटिभ देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । शनिबार ८ जना अस्पताल भर्ना भएका छन् । हालसम्म १ सय ६९ जना भर्ना भएकामा २ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेकाले भारतबाट फर्किनेहरूको राम्ररी परीक्षण र व्यवस्थापन नहुँदा ग्रामीण तहसम्म संक्रमण फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । संक्रमितको व्यवस्थापनका लागि सरकारले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा नेपाली सेनामार्फत निर्माण सुरु गराएको होल्डिङ सेन्टर अझै तयार नभएकाले पनि व्यवस्थापनमा समस्या भएको हो ।
