Agni Offset Press

कोरोना कहर : सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड

Aarati simant

अत्तरिया : भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेका वेला सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड लाग्ने गरेको छ । त्रिनगर भन्सार नाका भएर दैनिक सयौँ नेपाली किनमेलका लागि सीमानजिकका बजार बनगावा र पलिया पुग्ने गरेका छन् ।

दैनिक उपभोग्य सामग्री किन्न जानेको भिडले कोरोना संक्रमणको जोखिम बढाएको छ । बनगावा र पलियामा किनमेल गर्न जाने नेपालीको घुइँचो नै हुन्छ । त्यसरी जानेहरूको रेकर्ड राख्ने गरिएको छैन । नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई–तीन सयजना किनमेलका लागि सीमावर्ती बजार पुग्ने गरेका छन् । ‘चाडवाड भएकाले अस्तिसम्म दैनिक ५–६ सयजना जाने गर्थे, हिजोआज पनि सामान किनेर फर्कने गरी दिनमा दुई–तीन सयजति भारतीय बजार जान्छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका असइ प्रेम खत्रीले भने, ‘किनमेल गर्न जानेको रेकर्ड राख्ने गरेका छैनौँ ।’

धनगढी बजारमा किनमेल गर्न आउने भारतीयको संख्या पनि उत्तिकै छ । यहाँका बजारमा किनमेल तथा नजिकका पर्यटकीयस्थलमा घुमघाम र धार्मिक यात्राका लागि दैनिक एक–डेढ सय भारतीय आउने गरेका छन् । नेपालीहरू चिनी, तेल, दाललगायत दैनिक उपभोग्य अन्य घरायसी प्रयोगका सामान किन्न सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । भारतीयहरू भने उनीहरू चिसोमा तयारी कपडा किन्न यहाँ आउँछन् । यसरी आउने–जानेको न कोरोना परीक्षण हुन्छ, न उनीहरूले खोप लगाए÷नलगाएको हेरिन्छ । निर्वाध ओहोरदोहोर हुँदा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । नाकामा व्यवस्थित नगर्दा संक्रमण समुदायस्तरमै पुग्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । त्यसरी आउन–जान रोक्नुपर्ने उनीहरूको सुझाव छ ।

‘भारतीय बजारमा किनमेल गर्न जानेहरू पनि संक्रमण भित्रिने जोखिम उच्च छ । उनीहरूको परीक्षण पनि नहुने भएकाले संक्रमण सीधै परिवार र समुदायमा पुग्न सक्छ,’ नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने, ‘यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ रोजगारीका लागि फर्केकाहरूको भने सकेसम्म सबैको स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताए ।

सीमावर्ती भारतीय क्षेत्रबाट काम गर्न आउने मजदुरमा पनि संक्रमण देखिन थालेको छ । संक्रमण देखिएकालाई फिर्ता पठाउने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कैलालीमा गाडीका ग्यारेज, इँटा उद्योगलगायत क्षेत्रमा सयौँ भारतीय मजदुर कार्यरत छन् । भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरू किनमेलका लागि जाँदा संक्रमण ल्याएर आउन सक्ने जोखिम भए पनि नाका बन्द गर्ने विषय संघीय सरकारको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.