
कैलाली लगायत तराईका जिल्लाको मौसम सुधार हुन समय लाग्ने

धनगढी : कैलाली, कञ्चनपुरमा लगातारको हुस्सुका कारण जनजीवन कष्ठकर बन्न थालेको छ । चिसो बढ्पछि दैनिक ज्यालादारी गर्ने र सुकुम्बासी परिवार समस्यामा परेका छन् । चिसोका कारण तराई क्षेत्रमा विरामी समेत बढेका छन् ।
पछिल्लो समय चोसोबाट हुने विरामी अस्पताल आउने क्रम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । यसैगरी लगातारको चिसोका कारण दैनिक ज्याला मज्दुरी गरेर जीविको पार्जन गर्ने समुदाय समेत मर्कामा परेका छन् ।
बाढी तथा विभिन्न कारणले विस्थापित भएकाहरू चिसोले झनै प्रभावित भएका छन् । कैलालीका विभिन्न क्षेत्रका शिविरमा बसोबास गरिरहेका उनीहरूलाई चिसोले रात कटाउन समेत मुस्किल हुन थालेको हो । ओढ्ने ओछ्याउने समेत पर्याप्त मात्रामा नभएका कारण आगो तापेर रात काट्नुपर्ने उनीहरू बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बनहरा विशिर, कृष्णपुरका वैलकुण्डी शिविर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको ढक्का शिविरलगायत जिल्लाका आधा दर्जन बढी स्थानमा सुकुम्बासीका शिविरहरू छन् ।
ती शिविरमा बसोबास गर्नेहरू दिनभरि ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । चिसोका कारण मजदुरी गर्न नसकेपछि झनै समस्या भएको उनीहरू बताउँछन् । कैलाली कञ्चनपुरमा केही दिनयता घाम लागेको छैन । दिनभरि हुस्सु मात्रै लाग्ने गरेको छ । पुस अन्तिमसम्म दिउँसोको समयमा केहीबेर घाम लाग्ने गरे पनि तीन दिनयता घाम लागेको छैन । गत साता तीन दिनसम्म परेको लगातारको वर्षाले समेत चिसो बढेको हो ।
जलवायु तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार न्यूनतम तापक्रम १० डिग्री सेल्सियसका आसपास भए पनि दिनभरि घाम नलाग्दा चिसो बढी भएको हो ।
आजमात्रै कैलालीको अधिक्तम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस छ । अब मौसममा सुधारको विषयमा चासो बढेको छ । धनगढीमा घाम कहिले लाग्छ ? प्रश्नमा मौसमविद् प्रभु पौडेलले भने, ‘आज र भोलि त हुस्सु नै लाग्ने छ । शुक्रवार र शनिवार हल्का वर्षाको पनि सम्भावना छ । त्यसपछि फेरि हुस्सु लाग्ने र अर्को साताको अन्त्यतिर मौसम सुधार हुने पूर्वानुमान छ ।’
