Agni Offset Press

कैलालीमा लागूऔषध अखडा : ६ महिनामा एक सय सातजना प्रयोगकर्ता र कारोबारी पक्राउ

Aarati simant

अत्तरिया : गत ३० पुसमा प्रहरीले धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा २४ र २७ वर्षीय युवा थिए । त्यसको अघिल्लो दिन मात्र लागुऔषधसहित धनगढीबाटै तीन युवा पक्राउ परे । तीमध्ये एकजना दुर्घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्चार्ज हुँदै थिए । उनीहरूबाट प्रहरीले खैरो हिरोइन बरामद गरेको छ । यी पछिल्ला केही प्रतिनिधि उदाहरण हुन् । कैलालीमा लागुऔषध प्रयोगकर्ता र कारोबारी दैनिकजसो पक्राउ पर्दै आएका छन् । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्रिने गरेको छ । लागुऔषधको बढ्दो कारोबार र प्रयोगले पक्राउ पर्ने संख्या पनि बढ्दो छ । प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा यहाँ एक सय सातजना कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ ।

यो अवधिमा लागुऔषधसम्बन्धी ७८ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन । गत वर्ष मात्रै लागुऔषधसम्बन्धी ९१ वटा मुद्दामा एक सय ३२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अधिकांश प्रयोगकर्ता रहने गरेका छन । धेरैजसो प्रयोगकर्ताले लागुऔषध बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘बेच्ने र खानेको संख्या धेरै छ । कतिपय बेच्ने मात्रै छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सिमानाका कारण रोक्न चुनौती छ ।’ खुला सिमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ ।

गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्या मात्र नभई बरामद हुने लागुऔषधको मात्रा पनि बढ्दो छ । सबैभन्दा बढी खैरो हिरोइन, चरेस, गाँजा, नाइट्राभेट, फेरागनजस्ता लागुऔषध बरामद हुने गरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । प्रहरीका अनुसार गाँजा र चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आयात हुने गरेको छ । भारतीय कारोबारीले लागुऔषध सीमावर्ती क्षेत्रनजिक ल्याइदिने र त्यहाँबाट यहाँका प्रयोगकर्ता र कारोबारीले ल्याउने गरेका पाइने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको तथ्यांक हेर्दा लागुऔषधको बढी कारोबार धनगढीमा हुन्छ । लागुऔषध बरामद हुने र व्यक्ति पक्राउ हुने घटनाले धनगढी लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । लागुऔषध मुद्दामा दैनिकजसो पक्राउ परिरहे पनि लागुऔषधको कारोबार र प्रयोगमा कमी नआएको स्थानीयको भनाइ छ । ‘बजार र आसपासकै कतिपय गल्ली र टोलमा दिउँसै युवाहरू लागुऔषध सेवन गरिरहेका देखिन्छन्,’ स्थानीय धर्म जोशीले भने, ‘प्रहरीले टोलटोलमा गस्ती बढाउने हो भने यस्ता कार्य निरुत्साहित हुन्छन्न।’

नाकाबाट सहजै भित्रिन्छ लागुऔषध
भारतका सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्र्याउन धनगढीका विभिन्न ग्रामीण नाका प्रयोग हुने गरेका छन । प्रहरीका अनुसार कतिपय प्रयोगकर्ता सीमावर्ती भारतीय क्षेत्रमा पुगेर लागुऔषध प्रयोग गर्ने र फर्कंदा लिएर आउने गरेका पाइन्छ । पक्राउ पर्नेबाहेक सुरक्षाकर्मीको आँखा छलेर भित्रिने लागुऔषधको मात्रा निकै बढी हुन सक्ने प्रहरीको अनुमान छ ।
लागुऔषध सहजै लुकाएर ल्याउन सकिने भएकाले सूचनाको पाटोलाई बलियो बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । लागुऔषधको कारोबार नियन्त्रणमा प्रहरीले अहिले सक्रियता बढाए पनि खुला सिमाना चुनौतीका रूपमा रहेको जोशीले बताए । ‘खुला सिमानाका कारण लागुऔषधको कारोबार नियन्त्रणको चुनौती बनेको छ,’ उनले भने, ‘सूचनाको पाटो बलियो बनाएर काम गरिरहेका छौँ ।’

लागुऔषध मुद्दामा पक्राउ पर्ने अधिकांश युवा छन । लागुऔषधको कुलतमा फस्नेमा १६–१७ देखि २६–२७ वर्ष उमेर समूहका युवा बढी देखिएको जोशीले बताए । लागुऔषधका कारण आपराधिक घटना पनि बढेका छन् । घरेलु हिंसा, झैझगडा, चोरी, लुटपाटजस्ता अधिकांश आपराधिक घटनाको कारण लागुऔषध हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषधको कारोबार निरुत्साहित गर्न नागरिकको सहयोग पनि आवश्यक रहेको प्रहरीको भनाइ छ । ‘लागुऔषधको कुलतमा फस्न नदिन अभिभावक पनि सचेत हुनुपर्छ । आफ्ना छोराछोरीबारे चासो राख्नु, टोलछिमेकमा लागुऔषध सेवन गरिरहेको देखे प्रहरीलाई सूचना दिनु नागरिकको पनि दायित्व हो,’ जोशीले भने, ‘यसले हामीलाई लागुऔषध नियन्त्रणमा सहयोग पुग्छ ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.