जग्गा नपाएकै कारण राजधानी निमार्णको कार्य अघि बढ्न सकेन् : मुख्यमन्त्री भट्ट
धनगढी,७ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गा नपाएकै कारणले प्रदेशको राजधानी निमार्णको कार्य रोकिएको बताएका छन् । शुक्रवार प्रदेश सभाको पाँचौँ स्थापना दिवसको अवसरमा उनले सो कुरा बताएका हुन् ।
‘अहिले सम्म जग्गा नपाएको कारण मात्रै राजधानी निमार्णको कार्य रोकिएको हो’,उनले भने, ‘मान्छेले भन्न सक्छन् किन अहिले सम्म भएन ? के कारणले रोकियो । तर म भन्न चाहन्छु अहिले सम्म जग्गा नपाएकै कारणले मात्रै राजधानी निमार्णका कार्य रोकिएको हो ।’
२०७५ सालमा प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को तेघरी क्षेत्रमा राख्ने निर्णय गरिएको थियो । राजधानी घोषणा भएको तीन वर्ष बढी भइसक्दा पनि प्रदेश सरकारले कुनै पनि कार्य अगाडि बढाउन नसक्दा चौतर्फी समेत विरोध हुने गरेको छ । तर मुख्यमन्त्री भट्टले भने प्रदेश सरकारले विधि प्रक्रिया सबै प¥याउदा पनि सङ्घीय सरकारले जग्गा नदिँदा सम्म काम गर्न नसकेको बताएका हुन् ।
यो चार वर्षको अवधिमा थुर्पै सङ्घर्ष गर्नुपरेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले नेपालको सिस्टमको परिवर्तन हुन आवश्यक रहेको बताए । ‘एउटा मन्त्री, सङ्घीय सरकारको प्रधानमन्त्रीले मात्रै तीव्र गतिमा जान चाहेर मात्रै हुँदो रहेनछन् भन्ने कुरा हामीले महसुस गरेका छौँ । राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनले मात्रै हुँदैन् । हाम्रो देशको सिस्टम, प्रशासनिक सिस्टममा परिवर्तन र ,रूपान्तर हुनुपर्ने अहिलेको आवश्यकता हामीले महसुस गरेका छौँ,’ उनले भने ।
कुनै एक प्रशासकीय प्रमुखले दिनमा कति काम गर्नुपर्ने हो त्यसको कुनै मूल्यांकननै नभएको र सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नसक्दा थुप्रै समस्याहरु भोग्नुपरेको बताए । ‘आज कुनै एक मान्छे अथवा कुनै एक प्रशासकीय प्रमुखले दिन भरि कति काम गर्नुपर्छ, त्यसको कुनै मूल्यांकन छैन, बढी गर्नेको कुनै इज्जत पनि छैन र नगर्नेको पनि कुनै सजाय छैन,’ उनले भने, यस्तो सिस्टमले देशको विकास अगाडि हुन सक्दैँन् ।’ उनले अहिले सम्म प्रदेशको अधिकार नहुँदा प्रहरी समायोजन, प्रदेशमा लोकसेवा आयोग सुचारु गर्न नसकिएको बताए ।