Agni Offset Press

फागुन १ देखि हेलिकप्टरबाट खप्तड र बडीमालिका घुम्न पाइने

Aarati simant

अत्तरिया : खप्तड होमस्टे झिग्राना डोटीले यस वर्ष पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज ल्याउने भएको छ । हिउँदामा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्गबाट खप्तड जाने अवस्था नभएपछि होमस्टेले ‘हेली प्याकेज’ ल्याउन लागेको हो ।

खप्तड होमस्टे झिग्राना र खप्तड टुर एडभेन्चर प्रालि डोटीले हिँउसँग खेल्न रमाउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै हेली टुरको प्याकेज ल्याउने भएको हो । खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडीमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज तय गरिएको छ । पटक–पटक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिँउ रहेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मीकस्थल बडीमालिकामा पनि बाक्लो हिँउ परेको छ । फागुनको अन्तिम सातासम्म त्यहाँ हिँउ खेल्न सकिने बताइन्छ ।

माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको होमस्टेका सञ्चालक दीपक खड्काले बताए । सुदूरपश्चिम प्रदेशको पर्यटनलाई नयाँ तरिकाले प्रबर्द्धन गर्ने उद्देश्यले टुर प्याकेजको कार्यक्रम ल्याइएको खड्काको भनाइ छ । गत वर्ष माघको दोस्रो साताबाट सुरु भएको टुर प्याकेजमार्फत १ सय ३५ जनाले खप्तड भ्रमण गरेका थिए । खप्तडमा पर्यटकका लागि उचित आवासको सुविधा नभएकाले हिँउदमा पर्यटक प्राय शून्य नै हुन्छन् । गत वर्षदेखि हेली प्याकेज ल्याएसँगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । खप्तड घुम्ने प्याकेजको व्यवस्था भएपछि गतवर्ष हिउँदे सिजनमा पनि खप्तडमा पर्यटकको चहलपहल बढेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.