बैतडी, १६ माघ : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आईतबार श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो ।
साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ । शहीद दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा पनि शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले ०५१ सालबाट शहीद दिवस मनाउने गरेको छ ।
स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिए पनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तेजप्रकाश भट्टले बताए । यस्तै बैतडीको सदरमुकाम गढी खलंगामा रहेको दशरथ चन्दको शालिकमा पनि स्थानीय संघसंस्था तथा नागरिक समाजका व्यक्तिले माल्यार्पण गरी दिवस मनाएका छन् । दिवसको अवसरमा शहीद चन्दको जन्मथलो दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।
सम्बन्धित पाेस्टहरु