सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
धनगढी : सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार सेती अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको रहेका छन् । दमका बिरामी रहेका मृतक पुरुषलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन्, भने ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ । तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।