स्थानीय तहको चुनाव जेठ ४ गते : प्रधानमन्त्री देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन्।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्।
सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजावादीले चुनाव अर्को वर्ष माघ फागुनमा गर्नुपर्ने धारणा राखे पनि कांग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठ मै चुनाव गर्ने निष्कर्षमा पुगेको हो।
आउँदो जेठ ४ गते चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो। ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई औपचारिक रुपमा सुझाव दिएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले चाँडो स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ। उसले गठबन्धनले चुनाव नगर्ने तयारीमा लागेको आरोप लगाउँदै छिटो चुनावको मिति तय गर्न भनेको छ। एमाले सचिव पद्यमा अर्यालले वैशाखमै चुनाव हुनुपर्ने बताइन्। राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ६ गते नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी चुनाव गर्न लिखित रुपमै दबाब दिएकी छिन्। नेकपा एकीकृत समाजवादीका नेताका समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सोमबारको मन्त्रिपरिषदको बैठकमा चुनावबारे कुनै छलफल नभएको बताए। बिहीबार बस्ने बैठकमा चुनावबारे निर्णय हुन सक्ने उनको भनाइ छ।
‘