
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकादेखि दक्षिणी गाँउ भएर सिधै कैलालीको धनगढी जोड्ने कृषि सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापवाही गरेका पाइएको छ । पाँच बर्षसम्म पनि निर्माण कम्पनीले उक्त सडक कालोपत्रे गर्न सकेको छैन । सडक निर्माण नहुँदा स्थानीय किसान सहित नागरिक मारमा परेका छन् । कृषि उपजका बस्तु धनगढी बजार लैजान अन्य कामकाजका लागि नागरिकले सास्ती खेप्नु परेको छ ।
०७३ सालमा तत्तकालिन सडक डिभिजन कार्यालयसंग स्वच्छन्द निर्माण सेवा कम्पनीले ३ बर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने गरी १६ करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीन पटक सम्म म्याद थप गर्दासमेत निर्माण कम्पनीले सडक बनाउन सकेको छैन । अहिले थपिएको म्याद अनुसार ०७८ चैत्र मसान्तसम्म निर्माण कार्य सबै सक्नुपर्नेछ । तर, २३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कम्पनीले हाल बेस मात्रै निर्माण गरेको छ । ५ किलोमिटर कालोपत्रे गरेपनि गुणस्तहिन भएको भन्दै त्यसलाई पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छैन ।
उक्त सडक निर्माणको मुख्य जिम्मा पाएको स्वच्छन्दता निर्माण कम्पनीले महाकाली गौरब बिल्र्डसलाई जिम्मा दिएको छ । सव निर्माण व्यवसायी (पेटी ठेकेदार) ले उक्त सडक निर्माणका लागि भन्दै क्रसर उद्योग खोेलेपनि तोकिएको समयमा सडक निर्माण हुन सकेको छैन । स्थानीय दिल ब. देउवाले निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न नसकेपछि ठकेदारको लापारवाही बढेर गएको बताए । काम नगर्ने ठकेदारमाथि सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ । सव निर्माण कम्पनी महाकाली गौरब विल्र्डसका संचालक प्रमानन्द कपाडीले मौसम, कोभिडलगायतका विविध कारणबाट ढिलासुस्ती भएको बताउँदै आएका छन् ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी हेमराज भट्टले संघीय कार्यालयबाट प्रदेश कार्यालयमा स्वामित आएको उक्त सडक निर्माणको ठेक्का सव निर्माण कम्पनीबाट खोसेर मुख्य निर्माण कम्पनीलाई जिम्मा दिइएको बताए । पूर्वाधार विकास कार्यालयका ईन्जिनियर समेत रहेका सुचना अधिकारी भट्टले सव निर्माण व्यवसायी महाकाली गौरब विल्र्डसको बैंक ग्यारेन्टी बापतको २६ लाख रुपैँया जफत गरेको बताए । सूचना अधिकारी भट्टले अब मुल निर्माण कम्पनी स्वच्छन्दता निर्माण सेवाले काम शुरु गरेको बताए । बिग्रीएको सडक समेत पुर्ननिर्माण सहित आगामी चैत्रभित्रै सडक निर्माणका लागि तोकेता गरिएको बताए ।
