
आजदेखि अत्तरियामा महोत्सव
सम्पूर्ण तयारी पुरा, मन्त्री आलेले उद्घाटन गर्ने

अत्तरिया : कैलालीको अत्तरियामा आज (शुक्रबार) देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदै छ । जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा हुने महोत्सवको तयारी पुरा भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव २५ गतेस संचालन हुने छ
महोत्सवको दिउँसो एक बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष असोक देवकोटाले जानकारी दिए । अत्तरिया पूर्वरोडमा रहेको लामीताल परिसरमा महोत्सवको आयोजना हुने छ ।
महोत्सवमा सर्वसाधारणलाई ५० र विद्यार्थीहरुलाई ४० रुपैया टिकट दर रहने छ भने अपांग जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ ।
कोरोना महामारीका कारण २ बर्ष देखि अत्तरियामा महोत्सव हुन सकेको छैन् । ‘महोत्सवको उद्घाटन अघि कला संस्कृति झल्कने बाजागाजा र ¥याली सहित अत्तरिया बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गराइने छ’ अध्यक्ष देवकोटाले भने ।
उनले छोटो समयमा नै महोत्सवको तयारी पुरा गरिएको बताए । ‘१ हप्ताको मात्रै समय लिएर महोत्सवको तयारी गरेका छौ । यो हाम्रो पहिलो अनुभव हो’ उनले भने ‘पछि हावाहुरी आउने, बर्षाको सम्भावना बढी हुने भएकाले केही दिन अगाडि मात्रै महोत्सवको घोषणा गरेर छोटो समयमा महात्सवको तयारी गरेका छौ ।’ महोत्सवमा प्रमुख अतिथिलाई यस क्षेत्रमा समस्या माग राखिने छन् । अध्यक्ष देवकोटाले कोरोना महामारीको जोखिम कायमै भएकाले टिकट वितरण गर्ने ठाउँमा निःशुल्क मास्क वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
महोत्सवमा करिब डेढ करोडको कारोबार हुने अपेक्षा लिएको छ । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सव सञ्चालनका लागि मुख्य प्रायोजक जुटाउन नसकिएको आयोजकले जनाएको छ । प्रवद्र्र्धकका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । विगतमा डेढ सय स्टल राखिने गरिएकोमा यस पटक भने हतारमा तयारी गरिएकाले एक सय स्टल राखिएको आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट ५० पैसा गोदावरी आर्यघाट व्यवस्थापनका लागि दिइने आयोजकले जनाएको छ । अध्यक्ष देवकोटाले सामाजिक उत्तरदायित्व अन्तरगत प्रति टिकट ५० पैसा गोदावरी आर्यघाट व्यवस्थापनका लागि दिने निर्णय गरिएको बताए । महोत्सवको सुरक्षाका लागि बिषेश प्रवन्ध मिलाइएको संघले जनाएको छ । अध्यक्ष देवकोटाले सुरक्षाका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र निजी सुरक्षाकर्मी पनि परिचालन गरिने बताए । ‘सुरक्षा अवस्थाका धेरैको चासो पनि छ । त्यसले हामीले यसपटक ठाउँठाउँमा सिसीटिभी क्यामेरा जडान गरेका छौ । सुरक्षाकै लागि ड्रोन क्यामेरा पनि उडाउने तयारी गरेका छौ’ उनले भने ‘सुरक्षालाई हामीले सबैभन्दा बढी महत्व दिएका छौ । यसमा कुनै कमि नहुने गरी काम गरेका छौ ।’ उनले निजी क्षेत्रबाट पनि २५ जना सुरक्षागार्ड परिचालन गरिने बताए । यसअघि घोषणा गरिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेपछि स्थागित गरिएको थियो । पुस २७ देखि माघ ९ गते सम्म महोत्सव आयोजना गर्नका लागि संघले पुस ८ गते महोत्सवको मिति घोषणा गरेको थियो । तर कोरोना महामारी बढ्दै गएपछि महोत्सव सञ्चालन मितिको अघिल्लो दिन स्थगित भएको थियो । यस पटक भने करिब एक साता अगाडि मात्रै महोत्सवको मिति घोषणा गरिएको हो ।
महोत्सव सभ्य र भब्य रुपमा सफल पार्न सुदूरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रलाई समेटिने संघका माहासचिव यज्ञराज जोशीले बताए ।
सुदूरपश्चिमको कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाको ब्यापार ब्यावसायलाई थप ब्यवसायिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाई रहेको छ ।
